ओखलढुंगा। ओखलढुंगामा आलुको बीउ भण्डारण गर्न घर निर्माण गरिएको छ। परम्परागत भण्डारणबाट ठूलो मात्रामा आलु कुहिने समस्या भोग्दै आएका ओखलढुंगाको ठाडे –टोड्के क्षेत्रका किसानका लागि आलुको बीउ भण्डारण घर निर्माण गरिएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यस क्षेत्रका २ सय १५ घरधुरी लाभान्वित हुनेगरी आलुको बीउको भण्डारण घर निर्माण भएको हो । ठाडेमा निर्माण भएको सो भण्डारण घर जनश्रमदानसहित ३४ लाख ३३ हजार रुपैयाँमा तयार भएको हो ।
अर्गानिक विधिबाट बुङको आलुउत्पादन हुने यो क्षेत्रका किसानले आलु भण्डारणको समस्या भोग्दै आएका थिए । जसका कारण वर्षेनी ठूलो मात्रामा आलुकुहिने समस्या थियो ।
भण्डारण घर निर्माण भएपछि आगामी साउनको सिजनमा निस्कने आलु किसानले सुरक्षित रुपमा भण्डारण गर्न पाउने भएका छन् । जिल्लाको २ हजार मिटर भन्दा माथिको क्षेत्रमा मुख्य बालीका रुपमा आलुखेती हुने गरेको छ । जिल्लामा २ हजार ९ सय ४७ हेक्टर क्षेत्रमा आलुखेती हुने गर्छ । यहाँबाट ४ करोड भन्दा बढी मूल्य बराबरको आलु निर्यात हुने गरेको छ ।