कास्की। गण्डकी प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । एमाले संसदीय दल गण्डकीले बुधबार दलको कार्यालयमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीको राजीनामा माग गरेको हो ।
सत्तागठबन्धनमा रहेका दलहरूबीचको किचलोका कारण बजेट ल्याएको १५ दिन बित्दासमेत बजेटमाथिको छलफल सुरु हुन नसकेपछि मुख्यमन्त्रीको राजीनामा माग गरेको बताइएको छ।
मन्त्रिपरिषदको निर्णयविपरीत बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले हटाएको भन्दै सत्तागठबन्धनमा रहेका दलहरूबीचको विवादका कारण प्रदेश सभा बैठक अनिश्चित बनेको छ । सुरु विवाद दुई साता बित्दासमेत समाधान हुन सकेको छैन ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभालाई अनिश्चितकालका लागि स्थगित गरिएपछि आफूहरूले बैठक तत्काल बोलाउन सचेत गराए पनि सरकारका तर्फबाट त्यसलाई बेवास्ता गरेको बताए । प्रमुख प्रतिपक्ष दलले गरेको शालीन आग्रहलाई अस्वीकार गरेर यो सरकारले लोकतन्त्रकै बदनाम गरेको उनको भनाइ थियो । लोकतन्त्रमा सबै समस्याको छिनोफानो गर्ने थलो संसद रहे पनि सत्तागठबन्धनमा रहेका दलहरूको विवादका कारण संसदलाई बन्धक बनाइएको उनको आरोप छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय र मुख्यमन्त्रीले भनेको कुरा अर्थमन्त्रीले नमानेको भए कि अर्थमन्त्रीलाई हटाउन सक्नुपर्छ नभए मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेका हुन् । बजेट अधिवेशनलाई रोकेर सरकारले संसदीय विधि र मान्यतालाई कुल्चिएकाले मुख्यमन्त्रीलाई पदमा बस्ने नैतिक आधार नरहेको उनले बताए । बजेट प्रस्तुत गरेको १५ दिन बित्दासमेत संसद् बन्द गर्नु बहुलठ्ठीपन रहेको भनाइसमेत गुरुङले थियो । बजेट माथिको छलफल गरेर पारित गर्नुपर्नेमा गठबन्धनमा रहेका दलहरूबीच बजेट भागबन्डाको विषयलाई लिएर झगडामा अल्झिनु भनेको लोकतन्त्रको खिल्ली उडाउनु रहेको भनाइ समेत उनको छ ।
प्रदेश सभा बैठक स्थगन गरेर अर्थ तथा विकास समितिमा बैठकमा बजेटको छलफल सुरु गर्ने तयारी गरिएको भन्दै उनले यो काम विधि र कानुनविपरीत रहेकाले तत्काल संसद् अधिवेशन बोलाउन उनले माग गरे । कार्यपालिका र व्यवस्थापिकाको अन्तरसमेत सरकारले बुझ्न नसकेको भन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आफ्नै पालामा सुरु भएकाले यसलाई निरन्तरता दिनुपर्ने माग समेत उनले गरेका छन्।