काठमाडौं। ग्रीन हाइड्रोजनबाट मल कारखाना सञ्चालनको सम्भावना अध्ययन गर्न कार्यदल गठन गरिएको छ। ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा कार्यदल समिति गठन गरिएको हो।
समितिमा काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका टिम लिडर डा.विराजसिंह थापा, डा.विष्णुप्रसाद गौतम, जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इन्जिनियर किरण गौतम, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर बाबुराज अधिकारी सदस्य छन्।
१५ दिनमा प्रतिवेदन तयार पार्ने गरी मन्त्रिस्तरीय निर्णयबाट कार्यादल गठन भएको हो। ऊर्जामन्त्री पम्फा भुसालले ऊर्जामा सबैभन्दा भरपर्दो ग्रीन इनर्जी हाइड्रोजन भएको भन्दै कार्यदल गठन गरेको बताइन्। उनले संसारका पेट्रोलियमा पदार्थको बादशाह मानिएका देशहरु समेत हाइड्रोजनमा जान थालिसके भन्दै पर्याप्त स्रोत भएको नेपालले ढिला नहुने बताइन्।
कार्यदलले प्रतिवेदन तयार पार्दा हाइड्रोजनको सम्भाव्यता, अन्तर्राष्ट्रिय अभ्यास, नीतिगत सुझाव लगायतका विषयहरु हेर्नेछ। ग्रीन हाइड्रोजनको उत्पादन तथा रासायनिक मल उत्पादनमा यसको उपयोग गर्ने सम्बन्धमा कार्यादलले अध्ययन गर्नेछ।
नवीकरणीय ऊर्जाबाट ग्रीन हाइड्रोजन इन्धन उत्पादन गर्ने दौडमा विश्वका धेरै देश अघि बढिसकेका छन्। ऊर्जाका रूपमा यसको उपयोग व्यवसायिक क्षेत्रमा बढ्दै गएको छ।
हाइड्रोजन इन्धन आपूर्तिको लागत निरन्तर ओरालो लागिरहेको र हरित ग्यासको उत्सर्जनलाई न्यूनीकरण गर्नुपर्ने दबाबमा विश्वका धेरै देशहरु रहेकाले यसको उपयोग बढ्दै जाने देखिएको छ।