काठमाडौं। अपर हेवा खोला हाइड्रोपावर कम्पनीले शुक्रबार सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) बिक्री खुलाएको छ। कम्पनीको आइपीओका लागि आगामी मंगलबार (असार २८) सम्म दर्खास्त दिन सकिन्छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ।
अर्को ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीलाई छुट्याइएको छ। बाँकी रहेको १३ लाख ९५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्ने छन्। कम्पनीले कुल जारी पुंजी ५० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो।
जसमध्ये कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि कुल ५ लाख कित्ता प्राथमिक सेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिकामा अपर हेवाखोला साना जलविद्युत नामक आयोजना निर्माणाधीन छ। हालसम्म आयोजनाको कुल ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।
कम्पनीको जडित क्षमता ८.५ मेगावाट हुने छ। आयोजनाको कुल लागत १ अर्ब ४२ करोड रुपैयाँ तय भएको छ। आयोजनाको प्रति मेगावाट लागत भने १६ करोड ७३ लाख रुपैयाँ हुनेछ।