कास्की। १० अर्ब लगानीमा ग्लोबल हब बिजनेस पार्क प्रा.लि.ले कास्कीको पोखरा र लेखनाथमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न व्यावसायिक भवन निर्माण गर्ने भएको छ। सो प्रा.लि.ले आफ्नै जग्गामा उक्त भवन निर्माण गर्न लागेको हो। पोखरा क्षेत्रमा विभिन्न व्यापार व्यवसायमा आबद्ध रहेका ५० जना व्यवसायीहरुको संयुक्त लगानीमा सो व्यवसायिक भवन निर्माण हुन लागेको हो। आधुनिक तथा अन्तर्राष्ट्रिय सुविधाका साथमा व्यावसायिक भवन बन्ने योजना रहेको छ।
सुपरमार्केटमा पाइने सम्पूर्ण सामानदेखि बस्नका लागि होटल, खाजा तथा खानाका लागि रेष्टुरेन्टको सुविधा पनि उक्त भवनमा उपलब्ध हुनेछ। सो भवनमा अन्तर्राष्ट्रियस्तरका ब्राण्डेड कपडाहरुसहित खेल्नका लागि खेल मैदान, स्पोर्टस हाउसको सुविधा पनि उपलब्ध हुनेछ। तयस्तै सबै वर्गका नेपालीको पहुँच पुग्ने गरी व्यावसायिक भवन सञ्चालनमा ल्याइने भएको हो। भवन ७ तला भन्दा माथिको हुनेछ ।
निर्माण हुने भवन ७ तला भन्दा माथिको हुने र त्यसमा डिजिटल पार्किङको सुविधा पनि उपलब्ध हुनेछ। फुड कोडमा भेजलाई छुट्टै र ननभेजलाई छुट्टै ठाउँको व्यवस्था हुनेछ साथै ड्रिङस गर्नेहरुका लागि बारको सुविधा पनि हुनेछ। निर्माण हुने भवनबाट हिमालको दृश्यसहित पोखरा शहर तथा आसपासका क्षेत्रको दृश्यावलोकन गर्न सकिनेछ । शिलान्यास भएको ३ वर्ष भित्र भवन निर्माण सकी व्यवसाय सञ्चालन गर्ने लगानीकर्ताहरुको लक्ष्य रहेको छ।
सो भवन निर्माण पश्चात पहिलो चरणमा पोखरा र लेखनाथमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र अन्य शहरमा लगानी विस्तार भइसकेपछि ५ हजार भन्दा बढीलाई रोजगारी प्रदान हुनेछ।