काठमाडौं। हिमालयन हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको १८ लाख ३० हजार ४ सय ७२ कित्ता शेयर बाँडफाँट गरेको हो।
प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता शेयर वितरण गर्ने हालको व्यवस्था अनुसार कम्पनीले पहिलो चरणमा १५ लाख ९३ हजार ७ सय ९६ जना योग्य आवेदकहरूमध्ये र १ लाख ८३ हजार ४७ जनाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो। यसरी बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर थप दुई जनाले एक एक कित्ताका दरले हात पारेका छन्। कम्पनीको आईपीओ बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन्।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १५ लाख ९५ हजार ५ सय ५४ जनाले आवेदन दिएका थिए। जसमध्ये १ हजार ७ सय ५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। कम्पनीले असार १५ देखि असार १९ गतेसम्म सर्बसाधारणलाई आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर वितरण गरेको छ। सार्वजनिक निष्कासनमा आएको बाहेक ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँट गरिसकेको थियो भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि सुरक्षित गरेको छ।
कम्पनीले सर्वसाधारणका लागि पहिलो चरणमा स्थानीयलाई आईपीओ विक्री गर्दा वितरण हुन नसकेको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि थप गरेर वितरण गरेको हो।