डडेल्धुरा । जिल्लामा अवरुद्ध भएको चार दिनपछि विद्युत र सञ्चार सेवा सुचारु भएको छ । भारी वर्षाका कारण डडेल्धुरामा अवरुद्ध विद्युत् र सञ्चार सेवा चार दिनपछि सुचारु भएको हो।
कैलालीको चुरे गाउँपालिका खानीडाँडानजिक १३२ केभी लाइनमाथि रूख ढलेर तार चुँडिएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् अवरुद्ध भएको थियो। डडेल्धुरामा आज दिउँसोबाट विद्युत सेवा सुचारु भएपनि सुदूरपश्चिमका अन्य जिल्लामा सुचारु हुन अझै केही समय लाग्ने बताइएको छ ।
अन्य कैयौँ स्थानहरूमा विद्युतका पोलहरू ढलेको, ट्रान्सफर्मर बगाएको र तारहरु ठाउँठाउँमा चुँडिएको बताइएको छ।
विद्युत् प्राधिकरणको १३३ केभीको टावरमार्फत नै टेलिकमको अप्टिकल सञ्चालन गरिएको र १३३ केभीको विद्युतमा समस्या भएसँगै अवरुद्ध भएको टेलिफोन सेवा ओपिजी डब्लू सञ्चालन गरेर फोन सेवा सुचारु गरेको नेपाल टेलिकम डडेल्धुराले जनाएको छ । ओपिजी डब्लूमार्फत डडेल्धुरा, डोटी र दार्चुलाको गोकुलेसम्म फोन सेवा सुचारु भएको जनाइएको छ ।