सुनसरी। जिल्लाको दुहबी सबस्टेसन अवरुद्ध भएको ३८ घण्टापछि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण डुबानमा परेर मंगलबार रातिदेखि अवरुद्ध भएको दुहबीस्थित १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको हो ।
रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।दुहवी सबस्टेसनबाट निकालिएका लाइनको क्रमश चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति शुरु गरिएको बताइएको छ ।
प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको थियो ।