पूर्वी नवलपरासी । जिल्लाको कावासोती नगरपालिका–२ को वडा कार्यालय निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन् । कावासोती नगरपालिका–२ को भवन निर्माणका लागि स्थानीयले एक करोड रुपियाँभन्दा बढीको जग्गा दान गरेका हुन् ।
जग्गा दान गर्नेमा चोलाकान्त दुवे (पोख्रेल), टेकनाथ चापागाइ र झविलाल दुवे (पोख्रेल)ले रहेका छन् । उनीहरुले एक करोड रुपियाँभन्दा बढी मूल्य पर्ने दुई कट्ठा जग्गा दान गरेका हुन् ।
बुधबार वडा कार्यालयको नाममा प्रदान गरिएको जग्गाको पुर्जा दाताहरूले नगरपालिका प्रमुख चन्द्रकुमारी पुनलाई हस्तान्तरण गरेका छन् ।
भवन निर्माणका लागि ठेक्का निकाली सकिएकाले चाँडै नयाँ कार्यालय भवन निर्माण गरेर आफ्नै वडा कार्यालयबाट सेवा प्रदान गर्ने वडाध्यक्ष लक्ष्मी पौडेलले जानकारी दिए ।