म्याग्दी । जिल्लाको जलजला–३ मा रहेको विद्याज्योति माविको भवन निर्माण गर्न शुरु गरिएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा विद्याज्योति माविको कक्षाकोठा भवन निर्माण शुरु गरिएको हो।
माविको १० कोठे दुईतले भवन निर्माणका लागि विकास बेल्जियमले ७५ प्रतिशत र गाउँपालिकाले २५ प्रतिशत लागत साझेदारी गरेका छन् ।
दुई करोड १३ लाख ९५ हजार ७६२ रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित एक करोड ६० लाख ७२ हजार ९७२ रुपैयाँमा त्रिशक्ति कन्ट्रक्शन इञ्जीनियरिङले ठेक्का लिएको गाउँपालिकाका इञ्जीनियर सुनिल बानियाँले बताए । विसं २०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र विकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको बताइएको छ ।
भवन योजना भित्र्याउन मल्लाजका रामबहादुर विक, टेकबहादुर बरुवाल र म्याग्दीको ताकम घर भई हाल बेल्जियममा रहेका ज्ञान विश्वकर्माले पहल तथा समन्वय गरेका हुन् ।
जिर्ण भएको भवनमा अध्ययन, अध्यापन गर्दै आएका यस विद्यालयका विद्यार्थी र शिक्षक भवन निर्माण शुरु भएपछि खुसी भएका छन् ।