काठमाडौं। म्याद सकिएका आयोजनाहरुको म्याद थपका लागि निवेदन दिने समय भोलि (आइतबार) मात्र बाँकी रहेको छ। निर्माण कार्य पूरा नभएका तर म्याद सकिएका आयोजनाहरुको हकमा म्याद थपका लागि निवेदन दिने समय श्रावण ८ (आइतबार) सम्म रहेको छ।
गत असार २० सम्म म्याद सकिएका र असार मसान्तसम्म म्याद भएपनि काम नसकिएका आयोजनाको हकमा भोलिसम्म निर्माण व्यवसायीले म्याद थपका लागि आवेदन दिन पाउने छन्।
गत असार २० गते जारी गरिएको सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनले असार २० सम्म म्याद सकिएका र असार मसान्तसम्म म्याद रहेर पनि काम नसकिने आयोजनाको हकमा एक वर्ष म्याद थप गरेको छ। उक्त आयोजनाको म्याद थपका लागि श्रावण ८ गतेसम्म निवेदन दिन भनिएको थियो। म्याद थप गर्नुपर्ने आयोजनाका लागि निर्माण कम्पनीले आवश्यक कागजातहरु बैंक जमानत, बीमा पोलिसी र वर्क सेडुलसहित सम्बन्धीत कार्यालयमा तोकिएको समयभित्र पहल गर्नुपर्ने हुन्छ।
नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सम्पूर्ण सदस्यहरुलाई समयमा नै सम्बन्धीत कार्यालयमा निवेदन दिएर म्याद थपका लागि पहल गर्न आग्रह गरेको छ। महासंघको लामो प्रयासपछि नेपाल सरकारले खरिद नियमावलीको १२ संशोधन गरी म्याद नाघेका सम्पूर्ण आयोजनाहरुको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको हो।