कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एन्फा टेक्निकल सेन्टर निर्माणस्थलको अवलोकन गरेका छन् । मुख्यमन्त्री पोखरेलले कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टर निर्माणस्थलको शुक्रबार अवलोकन गरेका हुन्।
फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारले पनि लगानी गर्ने मुख्यमन्त्री पोखरेलले बताए । अवलोकनका क्रममा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश समृद्धिको मुल आधार पर्यटन भएको र पर्यटन भित्र खेलकुदका गतिविधिलाई समेट्न सकिने बताए ।
एन्फा टेक्निकल सेन्टरको डिपिआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेर मन्त्रालयमा बुझाइसकेको र अब छिटै शिलान्यास गरिने बताइएको छ।
‘ड्रिम प्रोजेक्ट’ को रुपमा निर्माण गर्ने भनिएको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ८० जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई ४ चरणमा सक्ने तयारी छ । फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ ।