काठमाडौं। टुकुचा खोलाको किनार क्षेत्रमा स्वीकृत नक्सा विपरीत बनाइएका घररटहरा हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै ३५ दिनभित्र उक्त क्षेत्रका घर टहरा हटाउन निर्देशन दिएको हो।
काठमाडौं महानगरपालिका–१ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवनदेखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन लागिएको हो ।
घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी समेत दिएको छ । महानगरको शहरी विभाग प्रमुख सुरज शाक्यका अनुसार उक्त क्षेत्रमा ३ वटा पक्की घर र ५–७ वटा टहरा निर्माण भएका छन् । महानगरले ३५ दिन भित्र घर टहरा नहटाएमा आवश्यक कारबाही गर्ने शाक्यले जानकारी दिए ।
सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत नक्सा विपरीत भवन निर्माण मापदण्ड विपरीत र नक्सा नै नलिई घररटहरा निर्माण गरेको देखिएको हुँदा त्यस्तो प्रकृतिका भवनहरु यो सूचना जारी भएको ३५ दिनभित्र हटाउनुहुन अनुरोध गरिएको छ ।’