काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्। मंगलबार सिंहरदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन् ।
सरकारले ल्याएको बजेट कार्यान्वयनका विषयमा मन्त्रालय तहबाटै प्रभावकारी काम नभएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले सबै मन्त्री र सचिवलाई बोलाएर निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाबारे सम्बन्धित मन्त्री तथा सचिवहरुबाट जानकारी लिएका थिए ।
बैठकमा सरकारका काम कारबाहीबारे समीक्षा समेत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । बैठकमा प्रधानमन्त्री देउवाले थप प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन गरेको उनले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले यसअघि २१ पुसमा पनि यस्तै संयुक्त बैठक राखेर जनताको अपेक्षाअनुसार गर्न भन्दै निर्देशन दिएका थिए ।