काठमाडौं। लुम्बिनी विकास कोषको जग्गामा निर्माण गर्न लागिएको ‘संसारा वेलनेस’ रिसोर्ट निर्माण रोकिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले रिसोर्ट निर्माणमा रोक लगाएका हुन्।
उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरेसँगै निर्माण कार्य पनि रोकिएको छ।
गत वैशाख १९ गते कोष भित्र रहेको क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको हो। मंगलबार बसेको परिषद वैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस संचालन गर्ने निर्णय पनि गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले तयार पारेको विवरण अनुसार बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा संचालन गर्ने निर्णय गरिएको छ।
लुम्बिनी जाने पर्यटकहरुलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस संचालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए।