काठमाडौं। सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको रिक्त रहेको अध्यक्ष पदमा केशव कुमार बस्नेत सिफारिस भएका छन्। सिफारिस समितिको साउन १५ गते बसेको बैठकले बस्नेतलाई सिफारिस गरेको हो।
आठ प्रतिस्पर्धीलाई पछि पार्दै बस्नेत हेटौंडा सिमेन्टको अध्यक्षमा नियुक्त भएका हुन्। अध्यक्ष पदका लागि ९ जनाको आवेदन परेको थियो। आवेदन दिएकामध्ये बस्नेत, जगदीशप्रसाद गौतम जोशी, दिलीपकुमार झा, नवलकिशोर साह, नारायणमणि लामिछाने, निर्मलप्रसाद कोइराला, मुरारी खड्का, राजकुमार चौधरी र राधारमण खतिवडा अन्तर्वार्ताका लागि छनोटमा परेका थिए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत शुक्रबार आवेदकहरुलाई अन्तर्वार्ताको लागि डाकेको थियो। अन्तर्वार्तापछि गत आइतबार मन्त्रालयले आवेदकहरुमध्ये बस्नेतलाई नियुक्तिका लागि योग्य ठहर गर्ने निर्णय गरेको जनाएको छ। भुमरसुवा–४ उदयपुरका बस्नेतको नाम नियुक्तिका लागि सिफारिस गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
उदयपुर सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्ने प्रयोजनका लागि गत असार ३० गते दरखास्त आह्वान गरिएको थियो।