सुनसरी। सुनसरीको गढी गाउँपालिकामा शिलान्यास गरिएको आधारभूत अस्पतालको निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । संघीय सरकारको नीतिअनुसार गत वर्ष गढी–२ मा सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको भए पनि अस्पताल निर्माणको काम अगाडि नबढेको भन्दै तत्काल निर्माण गर्नुपर्ने माग गरेका हुन् ।
गढी गाउँपालिका–२ का सोभन यादवका नाति श्रीप्रसाद यादवका छोरा विश्म्बर यादवले संघीय सरकारको नीतिअनुसार गत वर्ष नै सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि १६ कट्ठा जग्गा दान गरेको र शिलान्यास गरिएको तर हालसम्म काम अगाडि नबढेकाले स्थानीयवासी र नागरिक समाजको ध्यानाकर्षण भएको स्थानीयवासी देवी काजीले बताए ।
गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको एक वर्ष बढी बित्दासमेत निर्माणका लागि बोलपत्र नभएकाले काम अगाडि बढाउन तत्काल नयाँ बोलपत्र आह्वान गरी अस्पताल निर्माणको स्थानीयवासी मुवारक खाँणले माग गरे ।
गाउँमै सम्पूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षासहित निकै उल्लासका साथ शिलान्यास गरिएको आधारभूत अस्पताल वर्षदिन बित्दासमेत निर्माण सुरु नभएकाले स्थानीयहरुको चासोको विषय बनेको खाँणले बताए । भमरीमा निर्माण गरिने १५ शय्याको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर ठेक्काको आह्वान गर्नुपर्नेमा त्यो काम अगाडि नबढेकाले आफूहरुलाई शंका लागेको गढी–१ का वडा सदस्य मोहमद भोलाले जानकारी दिए ।
पालिकामा निर्माण गरिने अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा केही बजेट उपलब्ध गराएको भए पनि काम अगाडि नबढेकाले ओझेलमा परेको गढी–२ का निवर्तमान वडाध्यक्ष अरुण चौधरीले बताए।