काठमाडौं। लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ। दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित १२ मेगावाट सो आयोजनाको निर्माण कार्य सम्पन्न भई परीक्षणसमेत सकिएको हो।
आयोजनाको निर्माण कार्य सम्पन्न भए पनि विद्युत प्रसारणलाइन नहुँदा विद्युत उत्पादन हुन नपाएको प्रवद्र्धक कम्पनीले जनाएको छ। हाल व्यावसायिक विद्युत उत्पादनका निम्ति प्रसारण लाइनको प्रतीक्षामा रहेको आयोजनाले बताएको छ। यसअघि २०७६ चैत महिनामा सक्ने भनिएको सो आयोजना दोर्दी खोलामा आएको बाढी र कोभिड–१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्बिएको हो।
आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ। सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रसारणलाइन पनि आयोजना आफैले निर्माण गरिसकेको छ।
विद्युत उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसारणलाइन मार्फत कीर्तिपुर सबस्टेशनमा जोडिएको छ। तर गत वर्षको बाढीका कारण प्रसारणलाइन पुनः निर्माण नहुँदा आयोजनाले विद्युत उत्पादन गर्न नपाएको हो। तत्कालका लागि मस्र्याङ्दी करिडोरअन्तर्गतको २२० केभी प्रसारणलाइन अन्तर्गत उदिपुर सबस्टेसनमा जोड्ने तयारी गरे पनि सो प्रसारणलाइन पनि निर्माण सम्पन्न नभएकाले आयोजनाले विद्युत उत्पादन गर्न नपाएको आयोजनाले जनाएको छ।
दोर्डी–१ जलविद्युत आयोजना १२ मेगावाट उत्पादन क्षमताको रन अफ रिभर जलविद्युत आयोजना हो। प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १०।.३ मेगावाट विद्युत खरिद सम्झौता गरेको छ। पीपीएमा सहमतिअनुसार सुख्खा याम पुस देखि ८ चैतसम्म ८ रुपैयाँ ४० पैसा र बाँकी समय हिउँदमा चार रुपैया ८० पैसा खरिद मूल्य कायम भएको छ। पीपीए दर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ।
२०७४ सालबाट सुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्चको अनुमान गरिएको छ। आयोजनामा सानिमा बैकको अगुवाइमा पाँचवटा बैंकले ऋण लगानी गरेका छन्।