स्याङ्जा। गण्डकी प्रदेश अन्तर्गत स्याङ्जाको हरिनास गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ। सो अस्पताल हरिनास गाउँपालिकाको चित्रेभञ्याङ्गमा निर्माण गरिने भएको हो। यस गाउँपालिकाको स्थानयिको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल भवन निर्माण गर्न लागिएको हो।
उक्त गाउँपालिकाको स्थानीयहरुले समयमा उपचार नपाएर अकालमा नै ज्यान गुमाउनु परेको दर्दनाक अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ अस्पताल भवन निर्माणको योजनालाई अगाडी बढाइएको हो। गाउँपालिकाले स्वस्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्थानीय स्तरमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी अस्पताल भवन निर्माण गर्ने भएको छ। सो अस्पताल भवन निर्माण भएपछि त्यहाँका पालिकाबासीहरु कोहि पनि स्वास्थ्य सेवा बाट बञ्चित हुन नपर्ने कुरा गाउँपालिकाले प्रतिबद्धता जनाएको छ।
अस्पताल भवन निर्माण गर्नको लागि करिब ११ करोड लागतमा शुभ कन्स्ट्रक्सन प्रा.लि लाई ठेक्का दिइसकेको कुरा हरिनास गाउँपालिकाले बताएको छ। शुभ कन्स्ट्रक्सन निर्माण प्रा.लि ले तोकिएको समयमा नै काम सकि पालिकालाई भवन हस्तान्तरन गर्ने सर्तका साथ उल्लेखित रकममा भवन निर्माण कार्यको जिम्मेवारी लिएको छ। अस्पताल निर्माण हुने कुराले त्यहाँको पालिकाबासीहरुमा खुसी छाउनुका साथै समयमा नै उपचार पाउने कुरामा उनिहरु विश्वस्त रहेका छन्।