काठमाडौं। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थित रूपमा रहेका तार हटाउन समिति गठन गरिएको छ।ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो ।
बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका अनावश्यक तार हटाई व्यवस्थित गर्ने सम्बन्धमा सात सदस्यीय समितिसमेत गठन गरेको छ ।
समितिमा परिषद्को तर्फबाट उपाध्यक्ष सहदेव धमला, केवल टिभीका तर्फबाट सुधीर पराजुली, आइस्पानका तर्फबाट सुवास खड्का, नेपाल टेलिकमको तर्फबाट सरिता महर्जन र सुनिल कर्ण, नेपाल विद्युत् प्राधिकरणको तर्फबाट दीपेन्द्र बुढाथोकी र एनसेलको तर्फबाट विनायक बुढाथोकी रहेका छन् ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले राजधानीको प्रमुख पर्यटकीय केन्द्रलाई व्यवस्थित र सुन्दर बनाउनका लागि ठमेलभित्र देखिएका समस्या समाधानका लागि परिषद्ले काम गर्दै आएको जानकारी दिए ।
ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र देखिएका ढलको समस्या, पार्किङको समस्या, सडकपेटीमा बसेर माग्ने व्यक्तिको समस्यालगायतका समस्या समाधानका लागि काम गर्दै आएको छ ।