काठमाडौं। नेपाल चीनको छोटो दुरीको तातोपानी नाकाको मितेरीपुल पारी चीनतर्फ खासा क्षेत्रमा संरचना धमाधम निर्माण भइरहेको छ। वर्षातको समय भएकाले बाढी र पहिरोजस्ता प्राकृतिक विपतबाट क्षति नहोस भनेर सिमाना पारी सडक स्तरोन्नति र खोलाकिनारमा तटबन्धको काम धमाधम भइरहँदा वारी नेपालतर्फ भने चकमन्न छ।
सेतो, पहेंलो हेलमेट लगाएर चिनियाँ कामदार काम गरिरहेका छन्। अलि उता डोजरले धमाधम खनिरहेको छ । केही मजदुर पर्खाल लगाउने र सिमेन्ट घोलिरहेका छन् । चीनतर्फ धमाधम संरचना बनिरहेको छ तर नेपालतर्फ भने मानाव बस्ती सडक र संरचना निर्माणको सुरसारै छैन।
तातोपानी नाका व्यापार बढ्दा अर्बौं राजश्व उठाउने सरकारले मालवाहक सवारीलाई सुरक्षित पार्किङ र कोदारी राजमार्गको स्तारोन्नतीलाई पनि ध्यान दिन सकेको छैन। राजमार्गको नाममा कच्ची सडक मात्र पुर्याएको छ । उता चीनतर्फ भने भुसंरक्षणका लागि पक्की वाल, बाँध र तटबन्ध लगाउने कामले तिब्रता पाएको छ ।
पछिल्लो समय तातोपानी नाकाबाट एकतर्फी नेपालमा मात्र सामान भित्रिन्छ भने नेपालबाट कुनै पनि सामान चीनतर्फ जाँदैन । चीनले ठाउाठाउामा सिसिटिभी क्यामरा जडान गरेर नाकामा निगरानी बढाइरहेको छ । नेपालतर्फ त्यस्तो कुनै संरचना छैन । नाकासम्म निगरानी बढाउन नेपालमा भन्सारमा कर्मचारी बाहेक कुनै साधन स्रोत छैन ।
देशको सिमाना जोगाउन र दुई देशको व्यापारलाई व्यवस्थित बनाउन दुई देशको सिमानाका स्थानीय बजार, सडक र भौतिक संरचना आवश्यक हुन्छ । यसतर्फ स्थानीय सरकारसागै संघीय सरकारले पनि ध्यान दिन जरुरी छ ।