काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको १ वर्ष बित्दा पनि अझैसम्म काम शुरू हुन सकेको छैन।
स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि २०७८ असार ३० गते बोलपत्र प्रकाशित गरेको थियो। विविध कारण देखाएर भवन निर्माण कार्य अझैसम्म शुरू हुन नसक्नु दुःखद भएको स्थानीय रहिस शाहले बताए।
प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटामा ल्याउन पहल गरेका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले अब केही महिनामा अस्पतालको भवन निर्माण कार्य थालिने बताए। केसीले भने, ‘संघबाट बजेट निकासा भई प्रदेश स्वास्थ्य मन्त्रालयमा आएको छ, प्रदेश स्वास्थ्य मन्त्रालयले शहरी विकास कार्यालयलाई भवन निर्माणको लागि ठेक्का दिइसकेको छ।’
चन्द्रौटा हाटबजार नजिकैको पूर्वपट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको वन क्षेत्रमा पर्ने ९ बिघा जग्गामा अस्पताल बन्ने भएको छ। अस्पताल बनाउन २ अर्ब रुपैयाँ लाग्नेछ। निर्माण अवधि २ वर्षको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटा क्षेत्रमा निर्माण गर्ने जनाएको थियो।