दोलखा। भीमेश्वर नगरपालिकाको प्रवेशद्वारकै अगाडि निर्माणाधीन कभर्ड हल अलपत्र परेको छ। नगरपालिकाले इन्डोर खेलका लागि निकै महत्त्वका साथ अघि बढाएको कभर्ड हलको निर्माण थपिएको समयमा समेत पूरा भएको छैन। निर्माणाधीन कभर्ड हलले नगरपालिकालाई गिज्याइरहेको स्थानीयले टिप्पणी गरेका छन्।
एक वर्षभित्र सम्पन्न गर्नेगरी २०७६ चैत १ गते श्यामसुन्दर अभिशा जेभीसँग ६ करोड ४५ लाख ५४ हजार ३५२ रुपैयाँ लागतमा कभर्ड हल निर्माणको सम्झौता गरिएको थियो। तर, अहिलेसम्म पनि उक्त संरचना नबनेको नगरपालिकाका इञ्जिनीयर नकुल श्रेष्ठले बताए। श्रेष्ठका अनुसार समयमा काम नसकिने भएपछि २०७८ पुस मसान्तसम्ममा सक्नेगरी म्याद थप गरिएको थियो। तर थप गरिएको समयमा पनि ठेकेदारले काम सम्पन्न गरेको छैन। पछिल्लो समय ठेकेदार सम्पर्कमा नआएको उनको भनाइ छ। कभर्ड हल निर्माण हालसम्म ७० प्रतिशत मात्र सकिएको छ।
डीपीसीपछिको स्ट्रक्चर बिम, प्यारापिट, साइटको स्ट्रक्चर, छाना तथा फिनिसिङको कामको जिम्मेवारी लिएको उक्त कम्पनीले हालसम्म पिलर, बिम, प्यारापिट बनाउने पर्खाल लगाउने लगायत काम गरेको छ। तर छानो तथा फिनिसिङको काम गरेको छैन।
कम्पनीका अर्जुन दहालले पहिले कोभिडका कारण र अहिले फलामको मूल्य बढेकाले काम सम्पन्न गर्न नसकिएको प्रतिक्रिया दिए। यसअघि थप गरिएको म्याद सकिएकाले दोस्रोपटक थप नगरिएको नगरपालिकाका सूचना अधिकारी जगदीश अर्यालले बताए। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काको सरुवा भएको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत भर्खरै आएकाले अब म्याद थप गरिने उनले बताए। आर्थिक अभियानबाट