काठमाडाैं। अरुण काबेली पावर लिमिटेडको नाफा १४ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
पोहोर असार मसान्तसम्म कम्पनीले खुद २८ करोड ९७ लाख रुपैयाँ कमाएको थियो। विद्युत बिक्री आम्दानी बढे पनि सञ्चालन खर्च नघट्दा कम्पनीको नाफा भने बढ्न सकेको छैन। अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत बिक्रीबापतको आम्दानी ६.२६ प्रतिशत बढेको हो। असार अन्त्यसम्म अरुण काबेली पावरले ७५ करोड १० लाख रुपैयाँको बिजुली बेचेको छ।
पोहोर असारको तुलनामा यो ४ करोड ४३ लाख रुपैयाँ धेरै हो। कम्पनीले अन्य स्रोतबाट समेत ४७ लाख रुपैयाँ कमाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले आयोजना संचालन गरेबापत कुल १ करोड ७४ लाख रुपैयाँ रोयल्टी तिरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बढी हो।
कम्पनीले आयोजना संचालन गर्दा हुने खर्चका आकार बढेका छन्। जसले गर्दा आम्दानी बढे पनि नाफा बढ्न नसकेको देखिएको हो। आयोजना संचालनका लागि हुने खर्च झन्डै साढे ३४ प्रतिशत बढेको छ। प्रशासनिक खर्च पनि साढे ७ प्रतिशत बढेको छ।
कम्पनीले कर्मचारी र सामाजिक उत्तरदायित्व हुने खर्च भने अघिल्लो वर्षको तुलनामा घटाएको छ। कम्पनीले तिर्ने कर्जाको ब्याज पनि घटेको छ। यद्यपि नाफा भने बढ्न सकेन।
१ अर्ब ८५ करोड रुपैयाँ चुक्ता पुँजी भएको अरुण काबेलीको जगेडा तथा कोषमा कुल २५ करोड ८० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीसँग कुल ५ अर्ब ५७ करोड रुपैयाँ बराबरको सम्पत्ति छ।
सो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १३।४५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३२.९१ रुपैयाँ छ।