मोरङ। प्रदेश १ को प्रादेशिक राजधानीका संरचना बनाउन विराटनगर महानगरपालिकाले जग्गा दिने भएको छ। महानगरले प्रादेशिक राजधानीका मन्त्रालय, संसद् भवन जस्ता संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने भएको हो ।
यसअघि महानगरले बेवास्ता गर्दा बृहत्तर विराटनगरको अवधारणामा राजधानीका मन्त्रालय, कार्यालय र प्रशासनिक भवन अन्यत्र सार्ने योजना तत्कालीन सरकारले बनाएको थियो। मेयर नागेश कोइरालाले प्रदेश राजधानीको संरचना निर्माण गर्न आवश्यक पर्ने जग्गा महानगरपालिकाले उपलब्ध गराउने बताएका छन् ।
विराटनगरमा आयोजित एक कार्यक्रममा मेयर कोइरालाले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि सहयोग गर्न आफू तयार रहेको बताए । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको संयोजकत्वमा राजधानीको संरचना निर्माणको लागि जग्गा खोज्न समिति गठन गरेको छ । समितिले महानगरसँग जग्गा माग नगरेको बताउँदै आएका मेयर कोइरालाले कार्कीसमेत सहभागी कार्यक्रममा महानगर क्षेत्रभित्रै राजधानीका लागि आवश्यक पर्ने सबै भौतिक संरचना निर्माण हुनुपर्नेमा जोड दिए ।
बृहत्तर विराट क्षेत्रको अवधारणालाई आधार मानेर प्रदेश सरकारले विराटनगरलाई राजधानी तोकेको थियो । यसअनुसार विराटनगरबाहिर पनि राजधानीका संरचना निर्माण गर्नसक्ने अवस्था छ । बृहत्तर विराट क्षेत्रले १८ ओटा पालिका समेटेको छ ।