काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध रहेका सडक तथा पुल तत्काल खुलाउन प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।समितिको आइतबार बसेको बैठकले बेमौसमी वर्षाका कारण बाढीपहिरो जाँदा अवरुद्ध भएका सडक तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
मनाङ, बझाङ, बाजुरालगायत जिल्लाका सडक विच्छेद भएकाले अस्थायी रुपमा भए पनि तत्काल यातायात सञ्चालनमा ल्याउन समितिले मन्त्रालयलाई निर्देशन गरेको छ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको र वर्षेनी बाढी पहिराले गर्दा क्षति भइरहेकाले त्यसलाई न्यूनीकरणका लागि दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र खोजी गर्न र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन समेत समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आजको समितिको बैठकमा मन्त्रालयले बाढी, पहिराका कारण अवरुद्ध सडक खुलाउन गरिरहेको पहलबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले द्रुत गतिमा काम गर्न कर्मचारीलाई निर्देशन दिइन्। देशभरका धेरै सडकको अवस्था खराब भएकाले त्यसको समाधानमा ध्यान दिइनुपर्ने उनको भनाइ छ ।