काठमाडौं। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म माउण्टेन हाइड्रो नेपाल लिमिटेडको खुद नाफा ८ गुणाले वृद्धि भएको छ। हाइड्रोले रू १४ करोड ४७ लाखभन्दा बढी खुद नाफा गरेको हो।
अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७ दशमलव ७८ गुणा बढेको हो । अघिल्लो आवमा कम्पनीले रू १ करोड ८६ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो ।
गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी १४ दशमलव २० प्रतिशत बढी अर्थात् रू ६० करोड ८१ लाख भएको छ भने वित्तीय खर्च १६ दशमलव ६६ प्रतिशत कम अर्थात् रू २६ करोड ५४ लाखभन्दा बढी मात्र भएको छ । वित्तीय खर्च कम हुँदा कम्पनीको सञ्चालनबाट आम्दानी २८ दशमलव ११ प्रतिशत बढी अर्थात् रू ४० करोड २९ लाख भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू १ अर्ब २५ करोड रहेको छ । अघिल्लो आवमा रू १४ करोड ५ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम गत आवमा सुधारिएर रू ४२ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू ११ दशमलव ५८ र प्रतिशेयर नेटवर्थ रू १०० दशमलव ३४ रहेको छ ।