काठमाडौं। म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ। एक करोड ५४ लाखको लागतमा दुईतले नौकोठे भवन निर्माण गरिएको हो।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ। तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रघुगङ्गा–१ बेगखोलामा भवन निर्माणको सम्झौता गरेको थियो, बेगखोलामा गाउँपालिकाले अस्पतालको भवन बनाउने निर्णय गरेपछि स्वास्थ्य चौकीको भवन झिँमा स्थानान्तरण गरिएको आयोजनाले बताएको छ।
विसं २०७७ असार ११ गते तिलक निर्माण बागलुङसँग ठेक्का सम्झौता भएको भवन निर्माण कार्य राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विघटन भएपछि आयोजनाको कार्यालयलाई हस्तान्तरण भएको थियो। पन्ध्र महिनाको ठेक्काको म्याद कोरोना, स्थान परिवर्तन र जग्गा व्यवस्थापनका कारण २०७९ असार मसान्तसम्म थपिएको थियो। तिलक निर्माण सेवाका सञ्चालक भुपेन्द्र खड्काले सात महिनामा भवन निर्माण गरेर हस्तान्तरण गरेको बताए।
झिँमा गत पुस।माघ महिनामा सामुदायिक भवन भएको ठाउँको जग्गा व्यवस्थापन गरेपछि भवन निर्माण थालिएको थियो। भवन परिसरमा घेराबार, त्यहाँसम्म पुग्ने पदमार्ग, सडक र पहिरो रोकथामका लागि पर्खाल निर्माण भएको छ। भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, स्वास्थ्यकर्मीको कार्यकक्ष, आवास र प्रसूतिका लागि फरक फरक कोठा छन्। साँघुरो, पुरानो र जीर्ण भवनबाट सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई नयाँ भवनमा सारिएको छ। सुविधासम्पन्न भवन निर्माणसँगै स्वास्थ्य चौकीको सेवा प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ।