बझाङ। विद्युत अवरुद्ध भएका कारण जिल्ला अस्पताल बझाङमा बिरामीको उपचार गर्न समस्या भएको छ । लगातारको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीको उपचारमा समस्या भएको हो ।
वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा विद्युत्का पोल बगाएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएपछि एक सातादेखि अस्पतालमा सेवा प्रवाह गर्न समस्या भइरहेको बझाङ जिल्ला अस्पतालले जनाएको छ ।
केन्द्रीय लाइन अवरुद्ध भए पनि दुई सय किलोवाट क्षमताको स्थानीय सुर्मादेवी जलविद्युत् आयोजनाबाट अहिले सदरमुकाम चैनपुरमा विद्युत् आपूर्ति सञ्चालन गरिएको छ । तर पनि सदरमुकाम नजिकै सिमखेतमा रहेको अस्पतालमा भने विद्युत् पुगेको छैन ।
विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न बिरामीको शल्यक्रिया लगायतका अक्सिजन, नेवुलाइजर, एक्सरे, भिडियो एक्स–रेजस्ता स्वास्थ्य सेवा प्रभावित भएको हो । विद्युत् सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन् समस्या भएको देखिएको छ ।