काठमाडौं। करिब एक अर्ब लगानीमा चन्द्रागिरि नगरपालिकामा प्रसूति अस्पताल निर्माण हुने भएको छ। जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा सो अस्पताल निर्माण हुने भएको हो।
यस अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौता भइसकेको छ। यस सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख गरिएको छ। सो अस्पताल निर्माण भएपश्चात परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ।
सो अस्पताल निर्माण भएसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने कुरा नगरपालिकाका प्रमुखले बताएका छन्। त्यस्तै अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने भएको छ।