म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुनःस्थापना गर्न निजी आवास पुनःनिर्माणका लागि एक वर्षपछि अनुदान सम्झौता भएको छ।
विसं २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडितको लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन आइतबार पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरी अभिमुखीकरण गरिएको हो।
बीस लाभग्राहीसँग अनुदान सम्झौता गरी घरको नमूना, मापदण्ड, अनुदानको किस्ता भुक्तानी, प्रविधि र प्रक्रियाको विषयमा अभिमुखीकरण गरिएको गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले जानकारी दिए। गत वैशाखमा पारित भएको कार्यविधिअनुसार कोरोना र बर्खाका कारण तत्कालै घर निर्माण गर्ने सम्भावना नदेखिएपछि ढिलाइ भएको उनले बताए।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले यस वर्षको बर्खामा पनि घरबास गुमाएकाको पहिचान गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको र स्वीकृत भएपछि अनुदान सम्झौता र पुनःनिर्माण प्रक्रिया अघि बढाइने जानकारीदिए। घरबार गुमाएर बसेकाहरु पुनःनिर्माणकालागी अनुदान सम्झौता भएपछि अब बस्नकोलागी अन्य स्थान खोज्न नपर्ने भन्दै खुसी भएका छन्।