बैतडी। बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको निङ्गलाशैनी क्याम्पसको भवन निर्माण कार्य रोकिएको छ। पर्याप्त बजेट नहुँदा क्याम्पसको भवन निर्माण कार्य अघि बढ्न नसकेको हो।
२०७० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेको क्याम्पसको भवनको लागि बजेट प्राप्त नहुँदा निर्माण कार्य अलपत्र परेको हो । उक्त भवनमा अहिले इँट्टाहरूको गारो लगाउनुका साथै पिल्लर ठड्याइएकोबाहेक तीन वर्षयता अरु काम हुन सकेको छैन ।
२५ लाख रकमको लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि अधुरो रकम आएकाले निर्माण कार्यअघि बढ्न नसकेको क्याम्पसका उपप्राध्यापक कविराज भट्टले बताए ।
उनले विश्व विद्यालय अनुदान आयोगबाट उक्त भवनका लागि २५ लाख रुपैयाँ आउनुपर्नेमा १२ लाख ५० हजार मात्रै प्राप्त भएको बताए ।
उनले भने, ‘कोरोनाभाइरस महामारी सुरु भएका बेला बाँकी १२ लाख ५० हजार आउनुपर्नेमा अहिलेसम्म आएको छैन । आयोगले माग गरेका सबै कागजात हामीले पेस गरिसकेका छौँ । प्रकृयाहरू सबै पुर्याउँदासमेत अनुदान रकम आएको छैन । अन्य निकायबाट पनि सहयोग प्राप्त नहुँदा भवन निर्माण अधुरै रहेको हो ।’
मानविकि संकायको मात्रै अध्यापन हुने निंगलाशैनी क्याम्पसको पठनपाठन अहिले निंगलाशैनी माध्यमिक विद्यालयको भवनबाट भइरहेको छ ।