काठमाडौं। वडा कार्यालयको भवन निर्माणको काम समयमा नसकेको भन्दै गल्छी गाउँपालिकाले निर्माण कम्पनीसँग स्पष्टिकरण माग गरेको छ। धादिङको गल्छी गाउँपालिका-६ को वडा कार्यालय निर्माण समयमा नसकेको भन्दै गाउँपालिकाले ७ दिनभित्र स्पष्टिकरण बुझाउन सूचना निकालेको हो।
जी.एस निर्माण संसार कम्पनी प्रा.लिसँग कार्यालय भवन निर्माणको काम २०७९ साल जेठ ३० गते सक्नेगरी २०७८ असार ३१ गते सम्झौता भएको थियो। तर पटक पटक पत्राचार र फोन सम्पर्क गर्दा समेत निर्माण कम्पनीले निर्माण कार्य योजनानुरुप सम्पन्न नगरेपछि स्पष्टिकरण माग्न बाध्य भएको गाउँपालिकाले जनाएको छ।
सूचना जारी भएको मिति (आज) देखि ७ दिनभित्रमा निर्माण व्यवसायी स्वयम उपस्थित भएर समयमा काम नसकिनुको उचित कारण देखाउनु पर्ने गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ। यदि ७ दिनभित्र उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिए यहि सूचनालाई अन्तिम ताकेता मानेर निर्माण व्यवसायीसँगको सम्झौता तोड्ने र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने गाउँपालिकाको चेतावनी छ।