काठमाण्डौं। गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ।
सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ती घर निर्माणको सम्झौता भएको छ। चालु आवमा १२६ ले घर निर्माणका लागि प्रथम किस्ता लिएको उक्त कार्यालयका अधिकृत मनोज लामिछालेले जानकारी दिए।
जिल्लाको बकैया, भीमफेदी, राक्सिरागं, कैलाश तथा हेटौँडा उपमहानगर पालिकामा जनता आवास कार्यक्रम कार्यान्वयनमा रहेको उक्त कार्यालयले जनाएको छ। यसैगरी चितवनमा १९२ घर निर्माणका लागि सम्झौता भएकोमध्ये ८३ ले प्रथम किस्ता बुझेर लगेको जानकरी दिइएको छ।
उक्त कार्यक्रमका लागि पाँच करोड ४८ लाख बजेट विनियोजन भएको बताइएको छ। लाभग्राहीको १० प्रतिशत लगानी रहने गरी भूकम्पप्रतिरोधी सानो बरण्डासहितको दुई कोठे ढुङ्गामाटोले बनेको कच्ची घरको कूल लागत तीन लाख ५० हजार रहेको बताइएको छ।
कार्यालयका प्राविधिकका अनुसार कोरोना महामारीको कारण गत आवमा घर निर्माणका प्रक्रिया पूरा हुन् नसकेको हो। आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुदायलाई जनता आवास कार्यक्रममा समेटिएको बताइएको छ।