काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले महिला निर्माण व्यवसायीका लागि कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिम प्रदान गर्ने भएको छ। महिला निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा आगामी भदौ ९ र १० गते महासंघको सचिवालय अनामनगरमा तालिम हुने भएको हो।
विभिन्न क्षेत्रका विज्ञहरुबाट सार्वजनिक खरिद, सार्वजनिक खरिद नियमावली, कर, SBD लगायतका विषयमा तालिम दिइने महासंघले जनाएको छ। तालिममा कम्तिमा ४० जना महिला निर्माण व्यवसायी अर्थात सञ्चालक, इन्जिनियर र साइट इन्चार्ज स्तरीय व्यक्तिहरु मात्र उपस्थित हुन पाउने छन्।
तालिममा उपस्थित हुन चाहने व्यक्तिहरुले नाम, कम्पनीको नाम, सम्पर्क नम्बर र इमेल ठेगानासहितको निवेदन भदौ ४ गतेभित्र महासंघको सचिवालयमा बुझाइसक्नुपर्ने छ।
तालिममा पहिले आवेदन पठाउनेलाई पहिलो प्राथमिकताको आधारमा सहभागी गराउने महासंघले जनाएको छ। सहभागीको कोटा संख्या पुगिसकेपछि आएका आवेदन र पहिले नै यस विषयमा तालिम लिइसकेका व्यक्तिलाई तालिममा सहभागी नगराउने समेत महासंघका महासचिव रोसन दाहालले बताए।
