सिन्धुपाल्चोक। २०७२ सालमा गएको विनासकारी भु–कम्पले अत्यधिक मात्रामा क्षति पुगेको सिन्धुपाल्चोकको भोटेकोशि गाउँपालिका–३, दुगुनागढीका ९० घरधुरीका दलित र विपन्न समुदायलाई नयाँ घर पुनःनिर्माण गरी हस्तान्तरण गरीएको छ। भु–कम्पले घर भत्काएपछि ६ वर्षदेखि टहरामा जिविकोपार्जन गर्दै आएका दलित र विपन्न समुदाय नयाँ घर पाएपश्चात टहरा छोडी सुविधायुक्त घरमा बस्न थालेका छन्। द्धारिका फाउन्डेसनको आर्थिक सहयोग र भोटेकोशि गाउँपालिकाको समन्वयमा दुगुनागढीका ९० परिवारलाई भु–कम्प प्रतिरोधात्मक घर बनाई हस्तान्तरण गरेको कुरा सो गाउँपालिकाले जनाएको छ।
उक्त निर्मीत घरहरुमा १ घर बराबर ८ लाख खर्च भएको छ। सो समुदायले नयाँ घर पाएपछि भु–कम्पले भत्काएको घरको पीडा कम भएको कुरा व्यक्त गरेका छन्। २०७२ सालको भु–कम्पले सिन्धुपाल्चोकमा ९५ प्रतिशत भौतिक क्षति पुर्याएको थियो। त्यस्तै नयाँ घर हस्तान्तरण भएपछि उनिहरुको जीवनयापन सुधार्ने उद्देश्यले इको हिमालले एक घर एक खानेपानी धारा, शौचालय, गोबर ग्यासको व्यवस्था गरिदिएको छ भने इको हिमाल र रोटरी कल्बले १० घरलाई १० वटा पाडापाडी र ५ घरलाई ब्यड बोका पनि सहयोग गरेका छन्। हालसम्म सिन्धुपाल्चोकमा भु–कम्पले क्षति पुर्याएको घरहरुको पुनःनिर्माणको क्रममा ९७ प्रतिशत घरहरुको पुनःनिर्माण सकिएको छ।