काठमाडौं। बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर (भोलि) सोमबारदेखि निष्कासन गरिने भएको छ। कम्पनीले हाल कायम रहेको शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा भोलिदेखि हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले रू १०० अंकित दरका रू २६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ ।
यस आधारमा साउन १ गते सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । आवेदकले भदौ २६ गतेसम्म उक्त हकप्रद शेयरमा आवेदन पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू २६ करोड ७९ लाख रहेको छ ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू ५३ करोड ५८ लाख पुग्नेछ । विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयर मार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।