काठमाडौं। चिलिमेका चार वटै आयोजनाहरु रुग्ण बनेका छन्। चिलिमे जलविद्युत कम्पनी नेपालमा जलविद्युत् आयोजनाको नमुना मोडालिटी मानिन्छ,। जनतासँग शेयरबापत पैसा उठाएर कम्पनीमार्फत आयोजना बनाएर जनतालाई लाभ फर्काउने चिलिमे मोडालिटीमा विभिन्न चार वटा आयोजना अघि बढेका भएतापनि आयोजना बनाउँदा–बनाउँदै यति धेरै ढिला भइसक्यो कि शेयरधनी सेमत निरास बन्ने अवस्था आएको छ। जसले गर्दा चिलिमे मोडालिटीमा अरु आयोजना सफल हुनेमा प्रश्न चिन्ह उत्पन्न हुनथालेको छ।
प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङ २०६७ असारमा चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालकमा नियुक्त भएपछि सर्वसाधारणको पनि लगानी रहने जनकेन्द्रित–सार्वजनिक–निजी–साझेदारीमा २७० मेगावाटका ४ जलविद्युत आयोजना अगाडि बढाएका थिए। आयोजना निर्माणका लागि चिलिमे अन्तर्गत रहने गरी रसुवागढी हाइड्रोपावर, मध्यभोटेकोसी जलविद्युत र सान्जेन जलविद्युत कम्पनी स्थापना गरिएको थियो। प्राधिकरण, आयोजना रहेका स्थानीय तह, आयोजना प्रभावितहरु, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने गरी आयोजनाहरुको पुँजी संरचना तयार गरिएको थियो।
सञ्चय कोषले चार वटै आयोजनाका लागि कर्मचारी १६ अर्ब ६० करोड ऋण लगानी गर्ने गरी २०६८ को मंसिरमा ऋण सम्झौता गरी लगानी जुटाइएको थियो। यसरी उच्च प्राथमिकताका साथ अगाडि बढाइएका आयोजनाहरुको निर्माण शुरु भएको करीब १० वर्ष पुग्न लागेको छ। निर्माण कहिले सकिने हो भन्ने अझै टुंगो छैन। चिलिमेमै रहँदा घिसिङले ५ वर्षमा निर्माण सम्पन्न हुने घोषणा गरेका आयोजनाहरु अहिले पनि कति वर्षभित्र टुंगिन्छन् या टुंगिदैनन् भन्ने अत्तोपत्तो छैन।