दोलखा। भीमेश्वर नगरपालिकामा निर्माणाधीन कभर्ड हल निर्माणको काम दुई पटक म्याद थप गर्दा समेत पूरा हुन सकेको छैन। विभिन्न बाहानामा निर्माण कम्पनीले काम तीव्रताका साथ नगर्दा दुई पटक म्याद थप गरिसक्दा पनि कभर्ड हल निर्माणको काम ७० प्रतिशत मात्र पूरा भएको हो।
निर्माण कम्पनी श्यामसुन्दर अभिषा ६ करोड ५४ लाख ५४ हजार रुपियाँको लागतमा एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ साल चैत १ गते ठेक्का सम्झौता गरेको थियो। कभर्ड हल तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि पहिलो पटक गत पुस मसान्तसम्मका लागि म्याद थपिएको भौतिक पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख सुरेश राउतले बताए।
थपिएको समयमा समेत निर्माण सम्पन्न नभएपछि आगामी चैत मसान्तसम्मलाई दोस्रो पटक म्याद थप गरिएको थियो। म्याद थपपछि निर्माण कम्पनीले काम सुरु गरे पनि निर्माण कार्य सन्तोषजनक नरहेको शाखा प्रमुख राउतले बताए। निर्माण कम्पनीले सामान्य प्लास्टरलगायतको काम सुरु गरे पनि मुख्य छानाको काम सुरु नभएको र हालसम्म निर्माणको काम ७० प्रतिशत मात्र काम सम्पन्न भएको शाखा प्रमुख राउतको भनाइ छ।
एक हजार ११९ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन कभर्ड हल पाँच सय दर्शक क्षमताको हुने भीमेश्वर नगरपालिकाले जानकारी दिएको छ।