दाङ। लुम्बिनी प्रदेशको प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। दुई वर्षअघि वाईबी इन्फ्रास्टक्चर एन्ड सप्लायर्सले ठेक्का लिएको भवनको काम ९५ प्रतिशत पूरा भएको हो।
भवनको संरचना निर्माणको सम्पूर्ण काम सकिएको र रङरोगनलगायतका भित्रि काम मात्र बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा भवन निर्माणमा केही समय ढिला भएको हो।
प्रदेश सभा भवन आगामी असोजसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ। त्यतिबेलासम्म काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए। प्रदेश सरकारले पाँच करोड २१ लाखको लागतमा भवन निर्माण गरेको हो। प्रदेश सभा भवन दाङको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसरभित्र बनिरहेको छ।
देउखुरीमा रहेको राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ।
उक्त स्थानमा नमुना विद्यालय निर्माणका लागि सात करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।