काठमाडौं। वर्षा लागेसँगै निर्माण क्षेत्रमा सुरु भएको अफसिजनको समयमा पनि फलामे छडको मूल्य बढेको छ। भदौको पहिलो सातादेखि फलामे छडको मूल्य प्रतिकिलो करिब ५ रुपैयाँले बढेर आएको हो।
गत साउन महिनासम्म फ्याक्ट्रि मूल्य प्रतिकिलो १०५ देखि ११५ रुपैयाँसम्म रहेको फलामे छडको मूल्य फलामे छड उत्पादक कम्पनीले भदौ पहिलो सातादेखि प्रतिकिलो ११२ देखि १२० रुपैयाँसम्म पुर्याएका छन्।
फालमे छड उत्पादक कम्पनीहरुका अनुसार भारतबाट आयात हुने फलामे छडको कच्चा पदार्थमा भारत सरकारले १५ प्रतिशत कर लगाउन थालेकाले उत्पादन लागतमा वृद्धि भएको बताएका छन्। त्यसैगरी नेपाल सरकारले पनि फलामे छडको कच्चा पदार्थमा लगाउने करमा ५ प्रतिशतले वृद्धि गरेसँगै फलामे छड उत्पादनको लागत वृद्धि भएकाले मूल्य बढाउनु परेको उनीहरुको भनाइ छ।
आर्थिक वर्ष २०७८/७९ मा निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिमा समायोजनको माग राख्दै निर्माण व्यवसायीले लामो समय निर्माण होलिडे मनाए। निर्माण होलिडेका कारण देशभरका निर्माणाधीन ५ हजारभन्दा बढी आयोजना प्रभावित भए। निर्माण व्यवसायीहरुको विभिन्न मागलाई सम्बोधन गर्दै सरकारले सार्वजनिक खरिद नियमावलीको १२ औं शंसोधन गरी म्याद सकिएका तर काम बाँकी भएका अधिकांश आयोजनाको एक वर्ष म्याद थप समेत गरेको छ।
तर नियमावलीको १२ औं शंसोधनले पनि मूल्य समायोजनको विषयमा भने कुनै निर्णय गरेको छैन। म्याद थप भएसँगै चुप रहेका निर्माण व्यवसायी पुन: निर्माण सामाग्रीको मूल्यमा वृद्धि हुन थालेपछि भने समस्यामा परेका छन्। अफसिजनमा पनि बढ्न थालेको निर्माण सामाग्रीको मूल्य सिजनमा कहाँ पुग्ला ? भन्ने त्रास सुरु भएको छ। अघिल्लो वर्ष पनि मूल्यवृद्धिकै कारण प्रभावित बनेका आयोजनाहरु यस वर्ष पनि प्रभावित बन्ने सम्भावना बढेको देखिन्छ।