रुपन्देही। रुपन्देहीको कञ्चन बाँध सिंचाई आयोजनाको बिहीवार उदघाटन गरिएको छ। संघीय सार्बजनिक लेखा समिति सभापति भरतकुमार शाहले सिंचाई आयोजनाको बिहीवार उदघाटन गरेका हुन्।
१२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी लग्ने र त्यहाँबाट सिंचाई योजनाहरु सञ्चालन गर्ने आयोजनाको उद्देश्य रहेको छ ।
सो आयोजनाबाट रुपन्देहीको गैडहवा गाउँपालिका, लुम्विनी नगरपालिका र कन्चन र मायादेवी गाउँपालिकाका धेरै वडामा सिंचाई सुविधा उपलब्ध हुनेछ । कञ्चन बाँधबाट अब रुपन्देहीको दक्षिण–पश्चिम क्षेत्रको करिब पाँच हजार बढी विघा क्षेत्रफलमा सिंचाई सुविधा पुग्नेभएको छ ।
सिंचाई आयोजनाको उदघाटन गर्दै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले रुपन्देहीका ग्रामीण क्षेत्रमा धेरै पुल र सडकहरु बने पनि सिंचाई गर्ने बाँधको अभावमा खेतहरु धेरै बाँझो भएकाले अब कञ्चन बाँधले यस क्षेत्रका किसानलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे ।
लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्दीन खानले सिंचाईविना अन्न उत्पादन हुन नसक्ने भन्दै अन्य भौतिक पूर्वाधारजस्तै सडक बनाउनुभन्दा पहिले सिंचाई आयोजना बनाउनु जरुरी रहेको बताए। आफूले सिंचाईलाई पहिलो प्राथमिकता दिने उनले प्रतिवद्धता जनाए ।