रुपन्देही। गृहमन्त्री बालकृष्ण खाँणले समयमै निर्माण सम्पन्न गर्ने ठेकेदारलाई पुरस्कृत गर्ने नीति सरकारले अघि सारेको बताएका छन् । शुक्रबार रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ वेतहानीमा पश्चिमपाहुनी–वेतहनी–फर्साटिकर सडकखण्डमा पर्ने तिनाउ नदीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा मन्त्री खाँणले यस्तो बताएका हुन् ।
गृहमन्त्री खाँणले सरकारले बनाएको नीतिअनुसार समयमै पुल सम्पन्न गर्ने ठेकेदारहरुलाई राष्ट्रपतिबाट प्रदान गरिने विभूषित पुरस्कारबाट सम्मान गरिने आश्वासन समेत दिएका छन् । तीन वर्षभित्र पुल निर्माण हुने समयअवधि रहेकाले निर्धारित समयमा काम पूरा गर्न तीनै तहको सरकारले सहयोग गर्ने र ठेकेदारलाई पनि समयमा काम पूरा गर्न उनले बताए ।
तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका जोड्ने यो पुलले कृषि क्षेत्रको बजारीकरण तथा पर्यटनलाई समेत सहयोग पुग्ने भएकाले सोहीअनुसार दुवै पालिकाले योजना बनाउन उनको आग्रह थियो । रुपन्देही विकास र समृद्धि आफ्नो प्रमुख योजना भएकाले बताउँदै उनले विकासका आधारभूत कामहरु सकेर मात्रै समृद्धि ल्याउन सकिने बताए । आफू सरकारमा रहेकाले पुलको निर्माण समयमै सम्पन्न गर्ने तयारीका साथ अगाडि बढिएको उनको भनाइ छ ।
घनाबस्ती रहेको गाउँसहरिया बस्तीसँग जोडिँदै गर्दा यहाँको विकासले फड्को मार्न तिनाउ नदीको यो पुलले सहयोग पुग्ने खाँणले बताए । गृहमन्त्री खाँणले २०४८ सालमा चुनावी माहोलमा हिँड्दैै गर्दा भोगेका पीडा सम्झदै तिनाउ नदीमा थप पुल निर्माण थालिएको बताए । वारीपारीका नागरिकलाई यात्रामा सहजता बनाउनको लागि पुल निर्माण गरिएको उनले बताए ।
२१ करोड १५ लाख ४१ हजार ५ सय रकममा सबै काम सक्नेगरी हिराचन कालीगण्डकी सिद्धार्थजेवीले यसको ठेक्का पाएको छ । ०७७ पुस २८ गते ठेक्का भएको यो पुलको काम पूरा हुने अवधि २०८० पुस २७ गते राखिएको छ । ठेक्का पहिले भएपनि आयोजनाको कागजी प्रकृया पूरा गर्दा काम रोकिएको थियो ।