काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागको भवनमा रहेको बेसमेन्ट आइतबारदेखि पार्किङको लागि उपलब्ध गराइने भएको छ। यसअघि राहदानी आवेदकहरुको लागि होल्डिङ एरियाको रुपमा प्रयोग हुँदै आएको बेसमेन्ट आइतबारबाट पार्किङको लागि प्रयोग हुने भएको हो।
शुक्रबार विभाग पुगेर काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खाली गराएको थियो। विभागमा रहेको पार्किङ सेवाग्राहीलाई पनि खुलाउन महानगर र ट्राफिक प्रहरीको टोली विभाग पुगेको थियो। सो क्रममा विभागको बेसमेन्टमा रहेको कुर्सी र टेबलहरु महानगर प्रहरीले निकालेको छ।
बेसमेन्ट पार्किङको लागि खुला हुने भएसँगै विभागले लाइभ इनरोलमेन्ट सेन्टर त्यहाँ कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनको लागि आउन आग्रह गरेको छ।
त्यस्तै, विभागले राहदानी आवेदनका लागि आवेदकहरु तोकिएको मिति र समयमा मात्र विभागमा आउन समेत आग्रह गरेको छ। तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरुले गेट नम्बर २ प्रयोग गर्न विभागको आग्रह छ।