काठमाडौं। काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महाविर पुनबीच भएको भेटवार्तापछि महानगरले आविष्कार केन्द्र खोल्ने बताएको हो।
उक्त भेटमा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन्। यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा अड्चन आए नआएको बारेमा पनि छलफल भएको स्वकीय सचिव शाहले बताए।
‘अनौपचारिक सहकार्य भइरहेको र औपचारिक सहकार्य अन्तिम अवस्थामा पुगेकोबारे छलफल भएको थियो, उनले भने, ‘मेयरज्यूको निर्देशनमा सामाजिक विकास विभागका प्रमुख दिपक अधिकारी र म आजै आविष्कार केन्द्र पनि पुगेका थियौं।’
पुनले उनीहरूलाई कीर्तिपुरस्थित आविष्कार केन्द्रको भ्रमण गराई कामबारे जानकारी दिएका थिए। यस्तै महानगरसँग थप सहकार्य कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको उनले बताए।
भूपदेवले स्वास्थ्य चौकी, पार्कलगायत अन्य क्षेत्रमा तिर्नुपर्ने शुल्कलाई पूर्णरूपमा डिजिटलाइज गर्न सहकार्य गर्ने गरी कामहरू समेत हुने बताए।