रौतहट। रौतहटको गुजरा नगरपालिकामा बनेको प्रसूति गृह चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन। गुजरा नगरपालिका–२, कटाँनी टोलमा रहेको रंगपुर स्वास्थ्य चौकीमा दातृ संस्थाहरूको सहयोगमा ४ वर्षअघि बनेको प्रसूति गृह अझै सञ्चालनमा नआएको हो।
निर्माण सम्पन्न भएर पनि प्रसुति गृह सञ्चालनमा नआएपछि स्थानीय महिलालाई प्रसुतिको अवस्थामा हुने समस्या कम हुन सकेको छैन। यहाँका महिला सुत्केरीका लागि अन्यत्र जानुपर्ने बाध्यता कायमै छ।
यो प्रसूति गृह निर्माणमा नेपाल सरकार र वेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुननिर्माण संस्थाद्धारा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडिपी) को तर्फबाट ३३ लाख ७७ हजार ६१६ रुपैयाँ प्राप्त भएको थियो। जसमा गुजरा नगपालिकाले ५ लाख ४ हजार २०० र स्थानीयबाट सहयोग स्वरुप थप २ लाख १४ हजार ८६४ रुपैयाँ प्रास्त भएको थियो ।
कुल ४० लाख ९६ हजार ६८० रुपैयाँको लागतमा २०७४ सालमा नै निर्माण सम्पन्न भएको यो प्रसूति गृह अहिले पनि सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको ४ वर्ष हुँदा समेत प्रसूति गृह सञ्चालनमा आउन नसक्दा यहाँका महिलाहरू सुत्केरी हुन कष्टपूर्ण यात्रा गर्दै जोखिम मोलेर चन्द्रपुर, वीरगंज, भरतपुर जानुपर्ने वाध्यता रहेको स्थानीय बताउँछन्।