तेह्रथुम। जिल्लाको आठराई गाउँपालिकाको एक ग्रामिण बस्तीमा विद्युतीकरण गर्दा अनियमितता गरेको आरोपमा स्थानीयले निर्माण कम्पनी विरुद्ध अख्तियारमा उजुरी दिएका छन्। स्थानीयले अनियमितता विरुद्ध संघर्ष समिति नै गठन गरेर निर्माण निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका हुन्।
गाउँपालिका क्षेत्रमा विद्युत् विस्तारका लागि ईश्वरी र शशिधर निर्माण सेवा प्रालिले ठेक्का पाएका थिए । जिल्लाकै दुर्गम आठराई गाउँपालिकामा ०७४ सालबाट विद्युतीकरणको काम सुुरु भएको थियो । काम सुुरु भएकै समयदेखि नै ठेकेदार कम्पनीले उपभोक्ताको श्रम शोषण गर्ने र गैरकानुनी रुपमा पैसा समेत असुल गरिरहेको संघर्ष समितिले जनाएको छ।
समितिका उपाध्यक्ष तेजकुमार ईङनामले विद्युतीकरणमा भएको अनियमितताबारे छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएको जानकारी दिए।
विद्युत् विस्तारको जिम्मा पाएका कम्पनीका सञ्चालक, कर्मचारीहरु र विद्युत् प्राधिकरणका कर्मचारीहरु समेतको मिलेमतोमा उपभोक्तासँग नियम विपरीत रकम असुल गरेको आरोप उजुरी पत्रमा छ । संघर्ष समितिले सर्वसाधारण उपभोक्तासँग उठाएको पैसा फिर्ता गराउन लगाई दोषीलाई कारबाही गर्न समेत माग गरेको छ ।
निर्माण कम्पनीले विद्युत् प्राधिकरणका कर्मचारीलाई समेत संलग्न गराई मिटर बक्स वितरणमा समेत लाग्नेभन्दा बढी पैसा उपभोक्तासँग असुलेको आरोप उपभोक्ताले लगाएका छन् । विद्युत् विस्तारको कामको जिम्मा पाएका ठेकेदारले आठराई क्षेत्रका ५ सय घरधुरीबाट नियम विपरीतप्रति घरधुरी ८ हजारका दरले मिटर बक्समा मात्र ४० लाख रुपैयाँ असुल गरेको आरोप लगाएका छन् । नेपाल विद्युत् प्राधिकरण आठराई फ्युज सेवाका कर्मचारीले उपभोक्ताको घरमा मिटर बक्स जडान गर्दा समेत जडान शुल्क भन्दै बढी पैसा लिएको आरोप संघर्ष समितिको छ ।