काठमाडौं। पोखराको फूलबारीमा सदभावना हाउजिङ डेभलपर्स प्रालिले सुनगाभा अपार्टमेन्ट निर्माणको प्रक्रिया थालेको छ। उक्त कम्पनीले १३ तलाको अपार्टमेन्ट निर्माण गर्न लागेको हो।
कम्पनीका निर्देशक विकल शेरचनका अनुसार जम्मा सात रोपनी पाँच आना जमिनमा बन्ने सो अपार्टमेन्टको निर्माण आगामी जनवरीदेखि सुरु गर्ने तयारी रहेको छ। निर्माण सुरु भएको दुई वर्षभित्र यो अपार्टमेन्ट तयार पार्ने कम्पनीको लक्ष्य छ।
कम्पनिले गरेको तयारी अनुसार दुई देखी तीन बेडरुम भएको अपार्टमेन्टको मूल्य साढे दुई करोडदेखि साढे तीन करोड रुपैयाँसम्म रहने भएतापनि, बुकिङ खोल्दा सो मूल्य फेरबदल हुन सक्ने कम्पनीले जनाएको छ।
अपार्टमेन्टको वातावरणीय प्रभाव मूल्यांकन तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धी सूचना निकाल्दै कम्पनीले निर्माण प्रक्रिया अघि बढाएको छ।
पछिल्लो समय पोखरामा अपार्टमेन्ट परियोजना निर्माण तीव्र बन्दै गएको छ। रोडसो रियल इस्टेटको अन्नपूर्ण अपार्टमेन्ट, तेर्सापट्टीमा पोखरा रेसिडेन्सीसहित अन्य अपार्टमेन्ट परियोजना निर्माण भइरहेका छन्।
प्राविधिक पक्षहरु निर्माणसँगै तयारीकै क्रममा रहेकाले थप जानकारी केही समय भित्रै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।