पर्सा । वीरगन्जस्थित नेसनल ट्रेडिङ लिमिटेडको भौतिक पूर्वाधार मर्मतसम्भारका लागि छुट्याइएको बजेट फ्रिज भएको छ। जीर्ण भवन र व्यवस्थापन लथालिङ्ग रहेको नेसनल ट्रेडिङको पूर्वाधार मर्मतसम्भारका लागि छुट्याइएको ५० लाख रुपैयाँ बजेट फ्रिज भएको हो।
पुरानो भइसकेको भवनलाई समय समयमा मर्मत नगर्दा नेसनल ट्रेडिङको भवन परिसरमा पानी जम्ने, भवनमा लेउ लाग्नुका साथै घाँस उम्रिएको छ ।
गतवर्ष भवन मर्मतका लागि केन्द्रबाट आएको बजेट समेत व्यवस्थापन हुन सकेन। बजेट आएलगत्तै गतवर्ष नै निर्माण सामग्रीको मूल्य ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएपछि टेन्डर प्रक्रिया अघि नबढेको बताइएको छ।
साविकको नेसनल ट्रेडिङ कार्यालय रहेको मुख्य कार्यालय भवन र हाताभित्रको बाटो मर्मत गर्न बजेट आएको थियो। तर निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि ५० लाखले ठेक्का लाग्ने अवस्था नदेखिएपछि कार्यालयले जनाएको छ।
ट्रेडिङ परिसरमा हाल १३ वटा गोदाम छन् । १३ मध्ये १२ वटा गोदाम कम्पनीले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीलाई भाडामा दिएको छ । एउटा गोदाम आफ्नै प्रयोजनका लागि राखेको छ । दर्जन गोदामको भाडाबाट मात्रै ट्रेडिङले वार्षिक ९२ लाख रुपैयाँ आम्दानी गरिरहेको छ । तर, कुनै समय गुल्जार रहेको ट्रेडिङ परिसर अहिले खण्डहरजस्तो देखिन्छ ।
हालै मात्र ट्रेडिङको मुख्य कार्यालय भवन मधेस विश्वविद्यालयलाई ५ वर्षका लागि भाडामा दिइएकाले उसले उक्त भवनको मर्मतसम्भार र रंगरोगन थालेको छ । अन्य भवन र गोदामको अवस्था भने उस्तै छ । वर्षायाममा गोदामसम्म पुग्ने मुख्य बाटोमै पानी जमेर पोखरी बन्छ । नाला पुरिएर पानीको निकास नहुँदा परिसरमा पानी जम्ने गरेको हो ।