काठमाडौं। मथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आइपीओ जारी हुने भएको छ। कम्पनीको आइपीओ ल्याउने मुख्य एजेण्डा नवौं वार्षिक साधारणसभामा पेस गर्ने भएको हो।
कम्पनी सञ्चालक समितिको गत आइतबारको निर्णय अनुसार आइपीओ जारी गर्ने मुख्य एजेण्डा र अन्य केही विशेष प्रस्ताव सभाबाट पारित गराइने छ। यसका लागि बैठकले आगामी असोज ९ गते सभाको मिति टुंगो गरेको छ।
उक्त सभामा कम्पनीले अयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयर बिक्री तथा बाँडफाँट गर्ने र आइपीओ ल्याउने प्रस्ताव पारित गर्ने भएको छ। जसका लागि आवश्यक कागजातसहित नियामक निकायमा अनुमति माग्दै निवेदन दिइएको कम्पनीले जनाएको छ।
साथै कम्पनीले अधिकृत पुँजी वृद्धि तथा पुँजीगत संरचनामा परिवर्तन गर्नका लागि कम्पनीको प्रबन्ध पत्रको दफा तथा नियमावली संशोधन गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गर्ने भएको हो ।
साधारण सभा अउँदो असोज ९ गते आइतबार बिहान ११ बजेबाट काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा गरिने भएको हो।